FAQs Complain Problems

चपाचो, मृतिका कला केन्द्र

थिमि एक विशुद्ध नेवार बस्ती हो । यहाँ नेवार जाती भित्रका विभिन्न समुदायहरुको बसोबास रहेको पाइन्छ । त्यस मध्ये जनसंख्याको आधारमा दोस्रो स्थानमा रहेको समुदाय कुम्हा समुदाय हो । जसलाई प्रजापति पनि भनिन्छ । त्यसै गरी यहाँ परापूवंकालदेखि विभिन्न प्रकारका परम्परागत पेशा व्यवसायहरु संचालन हुँदै आएको पाइन्छ । त्यस मध्ये माटाका भाँडा बनाउने मृतिका कला एक प्रमुख पेशाको रुपमा रहेको छ जुन अझै पनि जीवन्त छ । यसकारण पनि थिमि जिवन्त सम्पदा र संस्कृतिको साथै, मृतिका कलाको लागि समेत देशभरि प्रसिद्ध छ । थिमिका दिगुटोल, वाचुननि, तुलःननि, नासःननि, चपाचो, जँलाननि, पाःचो लगायतका स्थानहरुमा मुलतः माटोको भाँडा बनाउने स्थानहरु हुन् । यसमध्ये चपाचो परिसर एउटा प्रमुख मृतिका केन्द्रको रुपमा परिचित छ । यसबाहेक यस टोलसँगै जोडिएका नासननि, तुलननि, कुम्हाननि, तुलःननि, जंलाननि, वाचुननिमा पनि माटोका भाँडा बनाउने कार्य आजपर्यन्त संचालन भइरहेको हामी देख्न सक्छौं ।
मृतिका कलाको साथै यहाँ स्थित धार्मिक देवस्थलहरुको कारण पनि चपाचो परिसरको महत्वपूर्ण छ । यस परिसरको चपाचो टोलमा दुइनाय् वा अष्टविनायकको मन्दिर रहेको छ भने यसै मन्दिरको सामुन्नेमा ऐतिहासिक धर्मधातु चैत्यको स्थापना गरिएको छ । यसैगरी मन्दिरबाट केहि फिट पश्चिममा इनायको द्यः अर्थात् सिद्धिकालीको द्यःछेँ वा बासस्थान रहेको छ । जहाँ हरेक वर्ष बिस्काजात्रामा सिद्धिकालीको खतमा राखी जात्रा गराइने सिद्धिकालीको प्रतिमा विराजमान छ ।
यसैगरी यस परिसरको नासननिमा प्रसिद्ध नासः द्यःको स्थापना गरिएको छ । नेवार समाजमा नासःद्यःलाई कलाकारिताको देवताको रुपमा लिइन्छ । सबै प्रकारको कलाकारितालाई सफलतापूर्वक संचालन गर्न यस देवताको आराधना अनिवार्य हुन्छ । अर्कोतर्फ जंलाननिमा ऐतिहासिक थिमि बस्तीको रक्षार्थ स्थापित अष्टमातृका मध्ये जंलाद्यः वा ब्रम्हायणीको स्थापना गरिएको छ । यसरी यो परिसर मृतिका कलाको साथै साँस्कृतिक दृष्टिकोणबाट पनि एक प्रमुख स्थलको रुपमा रहेको छ ।